भोटेकोशी बाढी प्रभावित पशुपन्छीका लागि KVD द्वारा निःशुल्क पशु औषधि सहयोग
रसुवा, नुवाकोट, धादिङ, तनहुँ तथा गोरखा जिल्लाका विभिन्न क्षेत्रमा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीका कारण पशुपन्छी तथा जनधनमा क्षति पुगेकोप्रति कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित पशुपन्छीको स्वास्थ्य संरक्षण तथा उपचारका लागि सहयोगको पहल गरेको छ।
बाढीका कारण प्रभावित क्षेत्रहरूमा पशुपन्छीमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका/गाउँपालिका, पशुसेवा शाखा तथा पशु स्वास्थ्यसम्बन्धी सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावित पशुपन्छीका लागि आवश्यक पर्ने प्राथमिक उपचारका औषधिहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
उक्त औषधिहरू वास्तविक रूपमा बाढी प्रभावित पशुपन्छीको उपचारमा प्रयोग हुने गरी सम्बन्धित सरकारी पशुसेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा वितरण गरिनेछ।
यस विपद्को समयमा पशुपन्छीको जीवन तथा स्वास्थ्य संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस मानवीय पहलमा सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूबाट आवश्यक समन्वय, सहकार्य र सहयोगको अपेक्षा गरिएको छ।
कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.
ललितपुर, नेपाल